नेपाली बजारमा चिनियाँ ब्रान्डका मोबाइलको बर्चस्व बढ्न थालेको छ । नेपाल भित्रिने एक दर्जन ग्लोबल ब्रान्डमा ७ भन्दा बढी चिनियाँ ब्रान्डले ओगटेका छन् ।
फरक फरक डिजाइन, मूल्यका फोन नेपाल भित्रिने क्रमसँगै चीनबाट आयात हुने मोबाइल पनि बढेको छ । भन्सार विभागको पछिल्लो आठ महिनाको तथ्याङ्कअनुसार नेपालमा चीनबाट मात्र ३० लाख थान मोबाइल आयात भएको छ । चीनसँगै भारत, दक्षिण कोरिया, भियतनाम, हङकङ, स्पेनलगायत ६१ देशबाट मोबाइल तथा सञ्चार उपकरण आयात हुने गरेको छ ।
आठ महिनाको अवधिमा नेपालमा चीनबाट तीस लाख ७७ हजार चार सय ९७ थान मोबाइल आयात भएका छन् । त्यस्तै हङ्कङबाट तीस हजार ४३, जापानबाट पाँच सय ४३, इन्डियाबाट ५७ हजार एक सय १५, इजरायलबाट एक हजार आठ सय, लाटिभाबाट दुई सय, भियतनामबाट एक हजार २४, अष्ट्रेलियाबाट एक सय सात थान र अन्य मुलुकबाट चार सय दुई थान मोबाइल आयात भएको छ ।
नेपाली मोबाइल बजारमा मात्र नभई विश्वव्यापारमा पनि चिनियाँ मोबाइल ब्रान्डले आक्रामक बजार विस्तार गरेका अवस्थामा घरेलु बजारमा पनि चिनियाँ ब्रान्डको बर्चस्व बढेको हो । बजारमा अहिले ५० भन्दा बढी मोबाइल ब्रान्डका स्मार्टफोन बिक्री भएका छन् । अहिले बजारमा एप्पल, सामसुङ, भिभो, ओप्पो, हुवावे, जियोनी, साओमी, मेजु, जेडटीइ, कलर्स, माइक्रोम्याक्स, माेटाेराेला, नाेकिया, वानप्लसलगायतका ब्रान्डहरुबीच प्रतिस्पर्धा छ ।
नेपाल मोबाइल आयातकर्ता सङ्घका अध्यक्ष दीपक मल्होत्राले एप्पल, सामसुङसँगै चिनियाँ ब्रान्डहरु पनि चीनमा नै उत्पादन हुने भएकाले चीनबाट आयात बढी हुने बताए । ‘नेपालमा सामसुङ मोबाइल चीन, कोरिया र भियतनामबाट आयात हुन्छन् तर चीनकै ब्रान्डहरु चीनबाट मात्र आयात हुने भएकाले चीनबाट बढी मोबाइल आएको हो,’ उनले भने ।
नेपालमा पछिल्लो पटक चिनियाँ ब्रान्डहरु आक्रामक प्रचार प्रसार गरेका कारण थुप्रै चिनियाँ ब्रान्डहरु भित्रिएको उनले बताए । ‘अहिले चिनियाँ ब्रान्डहरुको बजार हिस्सा बढिरहेको छ,’ उनले भने । चीनमै उत्पादन भएर ग्लोबल ब्रान्ड भएका थुप्रै ब्रान्डहरुको नेपाल प्रवेशपछि मोबाइलमा प्रतिस्पर्धा देखिएको उनले बताए ।
चिनियाँ ब्रान्डको सहज उपलब्धता र सहुलियतका कारण बजार बढिरहेको बिक्रेताहरु खुद्रा बिक्रेताहरु बताउँछन् । बजारमा अहिले सस्तोदेखि महँगा किसिमका मोबाइल उपलब्ध छन् । जुन रूपमा पछिल्लो समय नेपाली बजारमा चिनियाँ ब्रान्ड भित्रिरहेको छ त्यसले नेपालको मोबाइल बजारलाई नै चाइनामय बनाइरहेको छ, ताम्राकार हाउस न्यूरोडका मोबाइल बिक्रेता गुरुदत्त शर्माले भने ।
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०७५ १९:२६