नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका–३ स्थित चौघडामा आज बिहान थ्री ए हाइड्रोपावरको टावर बनाउने क्रममा टावरको माथिल्लो भागबाट झरेको सामानले लाग्दा एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।
बिहान दश बजेको समयमा हाइड्रोपावरको मर्मत लगायतको काम भइरहेको थियो । त्यसै क्रममा थ्री ए लाइनको टावरमा तार टाङ्ने काम गरिरहेका चिनियाँ नागरिक ४७ वर्षका हियो झ्याङलाई एक्कासी माथिबाट झरेको सामानले लाग्दा टाउकोमा चोट लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।
उनका अनुसार घाइते हियो झ्याङलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको छ । शवलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । रासस