काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद अमनलाल मोदीले मोरङको कटहरी क्षेत्रको सवस्टेशन सञ्चालन गर्न आयोजनासँग ५ लाख रुपैयाँ घुस मागेको खुलासा भएको छ । मोरङ्गका प्रमुख जिल्ला अधिकारी (सीडीओ) का अगाडि नै सांसद मोदीले ५ लाख रुपैयाँ दिए मात्र सवस्टेशन सञ्चालन गर्न दिन अडान लिएका थिए ।
सवस्टेशन सञ्चालनमा ल्याउन सीडीओ कार्यलयमा एक महिनाअघि भएको बैठकमा सांसद मोदीले उद्योगले एक रुपैयाँ पैसा नदिएकाले उनीहरुलाई त्यसै बिजुली दिन नसकिने भन्दै विद्युत प्राधिरणको आयोजनाले पैसा दिनुपर्ने भनेका थिए ।
कुलमानले घुस नदिएपछि मोदीले संघीय संसदको सार्वजनीक लेखा समितिको बैठकमा उल्टै भ्रष्टचार गरेको आरोप लगाएका थिए । ‘उद्योगलाई बिजुली दिन सवस्टेशन बनेको हो, उद्योगले अहिलेसम्म मलाइ १ रुपैयाँ दिएका छैनन्, त्यसैले आयोजनाले ५ लाख रुपैयाँ मलाई दिनुपर्छ, अनि मात्र सवस्टेशन सञ्चालन गर्न दिने छु’ मोदीको भनाई उध्रित गर्दै प्राधिकरणका एक उच्च अधिकारीले क्यापिटल नेपाललाई भने । ‘पैसा नदिए सवस्टेसन चल्न नदिने भनेपछि कुलमानले ‘सवस्टेसन नचले लोडसेडिङ हुन्छ, तपाईँले गलत बोलिरहनु भएको छ, यसले तपाईलाइ नै नराम्रो गर्ने छ’ भनेका थिए ।’ प्रधिकरणका उच्च अधिकारीले भने, ‘मोदीले अरुलाई पनि दिनुपर्छ भन्दै ५ लाख रुपैयाँ दिनुस भने ।’
पैसा नदिने उद्योगलाई किन लाइन दिने ? मोदीको प्रश्न थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले सरकारी संस्था भएकाले पैसा दिन निमिल्ने भनेपछि दुईबीच केही बेर भनाभन भएको थियो । उनले ५ लाख रुपैयाँ नदिएसम्म सवस्टेशन सञ्चालन गर्न नदिने चेतावनी दिएका थिए ।
सांसद मोदीले 'तलाई लेखा समितिमा देखाइ दिन्छु' भनेर धम्की दिएका थिए । त्यसको रिस पोख्दै मोदीले मंगलबार लेखा समिति बैठकमा कुलमानले भ्रष्टचार गरेको आरोप लगाए । दुईबीच केही बेर भनाभन भएको थियो । सवस्टेशन सञ्चालन गर्न नदिएपछि ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले अनुरोध गर्दा पनि सांसद मोदीले अटेर गरिरहेका छन्।
एसियाली विकास बैंङ्क (एडीबी) को सहयोगमा निर्माण भएको सवस्टेशन हो । देशभरी एडीबीको ऋणमा ७५ ओटा सवस्टेशन निर्माण भइरहेका छन् । सवस्टेशन २ महिनाअघि नै चार्ज हुनुपर्ने थियो । काम गर्न नदिएपछि ठेकेदारले आयोजना छाडेको छ । सवस्टेशन सञ्चालन भएन भने भोल्टेजको कम हुने भएकाले त्यो क्षेत्रमा लोडसेडिङ्ग हुने प्राधिकरणले जनाएको छ ।
विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन कटहरी सवस्टेसन निर्माण सकेको दुई महिनाभन्दा बढी भएपनि सांसद मोदीको अगुवाइमा विद्युत आपूर्ति हुन दिइएको छैन । सुनसरीको दुहवी सवस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ ।
स्थानीयबासिन्दाले गरेको अवरोधको नेतृत्व सांसद मोदीले गर्दै आएका छन् । कटहरी सवस्टेसन तत्काल चार्ज भएनभने विराटनगरमा फोर्स लोडसेडिङ गर्नु पर्ने अवस्था आएको प्राधिकरणको भनाई छ ।
स्थानीयको अवरोधका कारण सडकको छेउमा गाडिएको पोलमासमेत साढे तीन किलोमिटर तार तान्न सकिएको छैन । ग्रामथाम नेकपाका अमनलान मोदीको निर्वाचन क्षेत्रमा पर्छ ।