हरेक वस्तु विदेशबाट आयात गरी व्यापार घाटा बढिरहेको भए पनि मुलुक सिमेन्टमा आत्मनिर्भरताको बाटोमा लागेको छ । विदेशी सिमेन्टको आयातलाई प्रतिस्थापन गर्दै स्वदेशी सिमेन्ट उद्योगले नेपाली बजारको हिस्सालाई ओगट्दै गएका छन् ।
स्वदेशी सिमेन्ट उद्योगले यहाँको मागलाई परिपूर्ति गर्न थालेपछि विदेशबाट सिमेन्ट आयात घटेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्ष ०७४/७५को अर्ध वार्षिक समीक्षामा सिमेन्ट आयात ६७ प्रतिशतले घटेको व्यापार तथा निकासी प्रवर्धन केन्द्रले जनाएको छ । गत वर्ष छ महिनामा १ अर्ब २५ करोड १४ लाख रुपैयाँको सिमेन्ट आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६७.१ प्रतिशतले घटेर ४१ करोड २३ लाख रुपैयाँको मात्र सिमेन्ट आयात भएको छ । ६ महिनामा ८४ करोड रुपैयाँ कमको सिमेन्ट आयात भएको हो ।
स्वदेशमै चुन ढुङ्गा र क्लिङ्कर खानी रहेकाले धेरै कच्चा पदार्थ आयात गर्न नपर्ने भएकाले पनि स्वदेशी सिमेन्ट उद्योग फस्टाएका हुन् । सिमेन्ट उद्योगको लागि चाहिने करिब ९० प्रतिशत कच्चा पदार्थ स्वदेशी नै प्रयोग गर्न पाइने भएकाले पनि नेपाली लगानीकर्ता सिमेन्ट उद्योगमा आकर्षित भएका हुन् । ठूलो क्षमतामा उत्पादन गर्ने तयारीसाथ विदेशी लगानीमा केही सिमेन्ट उद्योगले पनि उत्पादन गर्ने तयारीमा छन् ।
चिनीया लगानी भएको होङ्सी शिवम् सिमेन्टले दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन लक्ष्य सहित धमाधम निर्माणको काम गरिरहेको छ । चीनको होङसी होल्डिङ ग्रुप र नेपालको शिवम् होल्डिङको संयुक्त लगानीमा स्थापना भएको उद्योगले २०१८ को मार्च अन्तिम सातादेखि उत्पादन बजारमा पठाउने तयारी गरेको छ । यो नेपालको सबैभन्दा बढी उत्पादन क्षमता भएको उद्योग हुने भएको छ । वार्षिक १ करोड ६८ लाख केजी सिमेन्ट उत्पादन गरिरहेको सर्वोत्तम सिमेन्टले उत्पादन क्षमता वृद्धि गरेर दोब्बर बनाउने गरी लगानी बढाएको छ ।
नेपाल सिमेन्ट उत्पादन सङ्घका अनुसार अहिले नेपाली बजारमा करिब ८० लाख टन सिमेन्टको माग छ । अहिले नेपालमै करिब ६६ लाख टन सिमेन्ट उत्पादन भइरहेको छ । यसमा थोरैमात्र विदेशबाट आइरहेकोमा अब नयाँ बन्ने परियोजनाले विदेशबाट आउने सिमेन्टलाई प्रतिस्थापन गर्ने विश्वास लिइएको छ । अहिलेसम्म करिब १० प्रतिशतको हाराहारीमा विदेशबाट आइरहेकोमा आगामी आर्थिक वर्षसम्म पूर्ण रुपमा आत्मनिर्भर हुने नेपाल सिमेन्ट उत्पादन सङ्घका अध्यक्ष धु्रवकुमार थापा बताउँछन् । ‘उद्योगहरु फुलफेजमा चलाउँदा मुलुक सिमेन्टमा आत्मनिर्भर भएको छ, थापाले भने, ‘निर्माणाधीन उद्योगले उत्पादन गर्न सुरु गरेपछि हामी सिमेन्टमा पूर्ण रुपमा आत्मनिर्भर बन्छौं ।’
नेपालमा अर्घाखाँची सिमेन्ट, शिवम्, अग्नि, विश्वकर्मा, अम्बे, ब्रिज, अरनिको, विजय, कसमस, मारुति, नेपाल अम्बुजा, नेपाल सालिमार, सर्वोत्तम, रिलायन्स सुपर टेक, शुभश्री जगदम्बा, युनाइटेड, विशाल, उदयपुर, बुटवल, सिजी, गोयन्का, जगदम्बा इस्टर्न कसमस, गणपति, घोराही, गोरखकाली, हेटौँडा, इन्टरनेसनल, बाँके ,जयमङ्गलम, कैलाश, कञ्चनजङ्घा, केपी, कृष्ण, मनसा, मित्तल ,एमज्यापी, नारायणी, नेसनल, ओम, निगाले, पशुपति, आरएमसी, श्री, सिद्धार्थ, सोनापुर, स्टार, सुप्रिम लगायत चार दर्जनभन्दा बढी सिमेन्ट उद्योग सञ्चालनमा छन् । भैरहवा, नवलपरासी, दाङ, उदयपुर, जनकपुर, मोरङ, वीरगन्ज लगायतका जिल्लामा धेरै उद्योग सञ्चालन भइरहेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०७४ १०:५३